
इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–२ मा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।























