
विराटनगर । विराटनगरमा आयोजित ३९औं गणगौर पूजा महोत्सव–२०८२ मा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका बालयोगीसहित पाँच जना महिलालाई सम्मान गरिएको छ ।
नेपाल मारवाडी गणगौर पूजा समिति विराटनगरद्वारा आयोजित उक्त महोत्सवले महिलाहरूको योगदानलाई विशेष प्राथमिकतामा राख्दै सम्मान गरेको हो । बुधबार सम्पन्न कार्यक्रममा डा. नेहा तापडिया, प्राप्ति घिमिरे, रिसिका कोठारी, प्रियंका अग्रवाल र रानी सारडा राठीलाई सम्मान गरिएको छ ।
समाजमा आ–आफ्नो क्षेत्रमा उल्लेखनीय पहिचान बनाएका उनीहरुलाई सम्मानपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मान कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
मन्त्री पराजुलीसहित महोत्सव समितिकी अध्यक्ष ललिता जाजु, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी तथा समाजसेवी बेनीगोपाल मुन्दडाले सम्मानित महिलाहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । यस वर्षको महोत्सवमा विशेष चर्चा कमाएकी व्यक्तित्व हुन्, बालयोगी प्राप्ति घिमिरे ।
पतञ्जलि योग मोरङ परिवारसँग आबद्ध प्राप्ति विराटनगरका करिब एक हजारभन्दा बढी योग शिक्षकहरूको उपस्थितिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनी कम उमेरमै योग क्षेत्रमा सक्रिय छिन् ।

प्राप्तिका बुवा चुडामणि घिमिरे (गोपाल) पतञ्जलि योग समिति विराटनगर संगठनका सचिव हुन् भने आमा राधिका पोख्रेल घिमिरे योग शिक्षिका हुन् । विराटनगर–४ सखुवारे टोल निवासी योगी परिवारमा जन्मिएकी प्राप्तिले पारिवारिक वातावरणबाटै योग साधनामा प्रेरणा पाएको बताइन्छ ।
महोत्सवमा सहभागीहरूले गणगौर पर्वले सांस्कृतिक संरक्षण मात्र नभई समाजमा महिला सशक्तीकरणको सन्देश समेत प्रवाह गर्ने बताए । विशेषगरी महिलाहरूलाई सार्वजनिक रूपमा सम्मान गर्ने परम्पराले समाजमा सकारात्मक ऊर्जा थप्ने उनीहरुको विश्वास छ ।
३९ औं संस्करणको महोत्सव धार्मिक तथा सांस्कृतिक महत्वसँगै सामाजिक योगदानको कदर गर्ने सन्देश दिँदै सम्पन्न भएको छ ।

























