फायल फाेटाेविराटनगर । इद उल फित्र पर्व आज (शनिबार) देशभरका मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाइरहेका छन् ।
एक महिनासम्मको रोजा (उपवास) सम्पन्न गरेपछि मनाइने यस पर्वमा बिहानै विशेष नमाज अदा गर्ने परम्परा रहेको छ । काठमाडौंस्थित नेपाली जामे मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरू भेला भई नमाज पढेका छन् ।

नमाजपछि आफन्त तथा ठूलाबडाकहाँ गई आशीर्वाद लिने र सानालाई माया तथा आशीर्वाद दिने चलन छ । यस पर्वको मुख्य विशेषता दान र सहकार्य हो ।

कुरानमा उल्लेख भएअनुसार मुस्लिमहरूले आफ्नो आम्दानीको निश्चित अंश दीनदुःखी र गरीबलाई दान गर्ने गर्छन् । जसलाई जकात भनिन्छ । साथै, सत्कार फितरका रूपमा अन्न वा नगद सहयोग पनि प्रदान गरिन्छ ।

इदको अवसरमा सेवई, खजुरजस्ता परिकार बनाएर पाहुनालाई सत्कार गर्ने र आपसी सद्भाव साटासाट गर्ने परम्परा रहेको छ । सरकारले पनि यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

























