
ताप्लेजुङ । चैतको सुरुवातसँगै ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
वसन्त ऋतुको आगमनसँगै वन ढकमक्क हुने गरी फुलेको लालीगुराँस र भर्खरै परेको सेतो हिउँले पाथीभरा क्षेत्र यति बेला अत्यन्तै मनमोहक देखिएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यो वर्ष पाथीभरामा नवौँ पटक हिमपात भएको हो । तर, विगतका पटकभन्दा यस पटकको हिमपात निकै बाक्लो रहेको उनले जानकारी दिए ।
चैतको पहिलो साता परेको यो हिउँले दर्शनार्थीका लागि ‘सुनमा सुगन्ध थपेको छ । एकातिर हिउँमा खेल्न पाइने र अर्कोतिर ढकमक्क फुलेका गुराँसका प्रजातिहरूसँगै फोटो खिचाउन पाइने भएपछि तीर्थालुहरू उत्साहित भएका छन् ।
प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि यो समय पाथीभरा यात्रा निकै सुखद हुने देखिएको छ ।























