मोरङको उर्लाबारीमा सवारी दुर्घटना हुँदा १३ जना घाइते 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ७, शनिबार १७:०६
मोरङको उर्लाबारीमा सवारी दुर्घटना हुँदा १३ जना घाइते  

विराटनगर । मोरङको उर्लाबारीमा यात्रु वाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ आइतबारेमा यात्रु वाहक २ वटा बस एकआपसमा ठोक्किँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ख ९२६२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. १–०२–००१ ख ८८३१ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटना भए लगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल नेतृत्वको टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा लगेको थियो । दुर्घटनामा परी घाइते भएका १३ जनाको अरनिको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–३ का ५५ वर्षीय गंगाराम गुरुङ, रतुवामाई नगरपालिका–९ का ३९ वर्षीय कृष्ण लिम्बू, रतुवामाई–६ की ४२ वर्षीया छविमाया तामाङ, रतुवामाई–९ का २६ वर्षीय रुपेश तामाङ, मिक्लाजुङ गाउँपालिका–८ का ३९ वर्षीय कूलबहादुर लिम्बू, उर्लाबारी नगरपालिका–९ की ६० वर्षीया मिकुमाया लिम्बू घाइते भएका छन् ।

त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–४ खनारका २० वर्षीय आशिष चौधरी, झापको बिर्तामोड नगरपालिका–८ का ३४ का जितबहादुर राई, झापा गाउँपालिका–७ की ४० वर्षीया निशा लिम्बू, दमक–४ का ३२ वर्षीया कौशिला रिजाल, दमक–१ का २५ वर्षीय सुजन लिम्बू, दमक–२ का २५ वर्षीय प्रदीप लिम्बू र अर्जुनधारा नगरपालिका–१ का ३९ वर्षीय रनबहादुर तामाङ घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य रहेको र केही उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको बस र बस चालकहरू उर्लाबारी–२ का ३१ वर्षीय लेखबहादुर कटवाल र झापा मेचीनगर नगरपालिका–७ का ३० वर्षीय सन्देश सिवाकोटीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.