
काठमाडौं । बलात्कारपछि हत्या भएका घटनामा न्याय नपाएको भन्दै पीडित परिवारले राष्ट्रिय महिला आयोग परिसरमा सोमबार नाराबाजी र प्रदर्शन गरेका छन् ।
नाराका क्रममा ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’, ‘इनिशा विक र रेस्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर जस्ता शब्दावली सुनिन्थ्यो । सुर्खेतकी इनिशा विक र खोटाङकी रेस्मिका परियारको बलात्कारपछि हत्या घटनामा दोषीविरुद्ध छिटो कानुनी प्रक्रिया अघि बढाउन र पीडकलाई कडा सजाय दिन पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका छन् ।
पीडित परिवारले विगतमा माइतीघर मण्डलामा धर्ना बसेर न्याय माग्दा कुनै सुनुवाइ नभएको स्मरण गर्दै आयोग समक्ष असन्तोष व्यक्त गरेका छन् । खोटाङ सेवा समाजले पनि पीडित पक्षसँग ऐक्यबद्धता जनाएको सचिव नवराज रोकाले जानकारी दिएका छन् । रोकाले भने, ‘पीडितले सकेसम्म छिटो न्याय र दोषीले कडा भन्दा कडा सजाय पाउनुपर्छ ।’
महिला आयोग परिसरमा भएको नाराबाजीले देशभर बढ्दो महिला हिंसाको संवेदनशीलता र पीडितको न्याय मागको आवाजलाई उजागर गरेको छ । महिला अधिकार सुनिश्चित गर्न र कानुनी प्रणालीको प्रभावकारिता माग्दै नाराबाजी एवं प्रदर्शन गरिएको हो ।























