
काठमाडौं । दुर्लभ वन्यजन्तु रेड पान्डा को संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा तेस्रो रेड पान्डा महोत्सव आयोजना हुने भएको छ। तेस्रो रेड पान्डा महोत्सव चैत २० देखि २३ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेड पान्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । करिब ४० किलोमिटर लामो पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीय स्थललाई जोड्छ ।
महोत्सव सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा आयोजना हुनेछ। उक्त क्षेत्रमा रेड पान्डा सहित विभिन्न वन्यजन्तु, चराचुरुङ्गी र जैविक विविधताको अवलोकन गर्न सकिने छ।
आयोजकका अनुसार रेड पान्डा पदयात्रा, जंगल सफारी, चराहरूको अवलोकन महोत्सवका मुख्य आकर्षण रहने छन् । साथै, यहाँ पाइने १८ प्रजातिका गुराँसको अध्ययन तथा स्थानीय आदिवासी जनजातिको संस्कृति अनुभव गर्ने अवसर पनि रहनेछ । यस क्षेत्रबाट विश्वको अग्लो हिमाल सगरमाथासहित ६० भन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिने बताइएको छ ।
महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । महोत्सव आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले यस कार्यक्रमले सन्दकपुर क्षेत्रका प्रमुख गन्तव्यहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यसअघि पहिलो संस्करण २०८० चैत २७ देखि वैशाख १ गतेसम्म र दोस्रो संस्करण २०८१ चैत २० देखि २३ गतेसम्म आयोजना गरिएको थियो । रेड पान्डाको माध्यमबाट पूर्वी नेपालको वन–जंगल पर्यटनलाई थप गतिशील बनाउने लक्ष्य आयोजकको रहेको छ।
झापाको चारआलीबाट ७५ किलोमिटरको दूरीमा इलाम बजार र त्यहाँबाट १८ किलोमिटर यात्रा गरेपछि सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र पुग्न सकिन्छ।
चारआली बाट करिब ७५ किलोमिटर दूरीमा रहेको इलाम बजार हुँदै थप १८ किलोमिटर यात्रा गरेपछि सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्रमा पुग्न सकिन्छ। त्यहाँ रहेको पर्यटन सूचना केन्द्रको सहयोगमा पर्यटकहरूले विभिन्न गन्तव्यहरूको सहज भ्रमण गर्न सक्नेछन्।























