
विराटनगर । श्रद्धा, निष्ठा र लोक आस्थाको महापर्व चैती छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ ।
तराई–मधेशका विभिन्न जिल्लामा रहेका नदी, पोखरी र नहर किनारमा व्रतालुहरू बिहानैदेखि उपस्थित भई सूर्यदेवको आराधना गरेका थिए । चैत शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको यो चारदिने पर्वमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको थियो ।
बुधबार बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गरिएको हो । पर्वको अवसरमा नदी किनार तथा जलाशयहरूलाई विशेष रूपमा सिँगारिएको थियो । व्रतालुहरूले ठेकुवा, भुसवा, केरा, उखु, सुन्तला लगायतका प्रसाद अर्पण गर्दै सन्तान प्राप्ति, रोगबाट मुक्ति र पारिवारिक सुख–समृद्धिको कामना गरेका छन् ।
अर्घ अर्पणपछि व्रतालुहरूले प्रसाद बाँडेर पर्वको समापन गरेका छन् । वर्षमा दुई पटक मनाइने छठ पर्वले तराईमधेशको सांस्कृतिक जीवनमा विशेष महत्त्व राख्दै आएको छ ।



















