कोटेश्वर घटनामा प्रहरीको ज्यान जोगाउने २ जनालाई पुरस्कृतका लागि सिफारिस

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ११, बुधबार १८:३०

काठमाडौं । भदौ २४ गते काठमाडौंको कोटेश्वर क्षेत्रमा भएको हिंसात्मक घटनाका क्रममा जोखिम मोलेर प्रहरीको ज्यान जोगाउने २ जना सर्वसाधारणलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले घटनाबारे अध्ययन गर्दै उनीहरूको साहस र मानवताको उच्च मूल्यांकन गर्दै पुरस्कृत गर्न सरकारसमक्ष सिफारिस गरेको हो ।

कोटेश्वरस्थित होटेल स्वर्णिम एन्ड गेस्ट हाउसका सञ्चालक शिवराम बाँडालाई पुरस्कृतका लागि सिफारिस गरिएका छ । आयोगका अनुसार उक्त दिन प्रदर्शनकारीले प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड र आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगा, इँटा र धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । ज्यान जोगाउन भाग्दै आएका केही प्रहरी कर्मचारीहरू अर्धनग्न अवस्थामा बाँडाको होटेलमा पुगेका थिए ।

त्यस अवस्थामा बाँडाले होटेलको कौसीबाट उनीहरूलाई भित्र प्रवेश गराई विभिन्न कोठामा सुरक्षित रूपमा लुकाएका थिए । उनले सुरक्षा सुनिश्चित गर्नुका साथै प्रहरीलाई खाना खुवाउने र कपडासमेत उपलब्ध गराएर ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

त्यस्तै, अर्की सिफारिसमा परेकी घडी पसल सञ्चालक गीताकुमारी साह हुन् । आयोगको प्रतिवेदनअनुसार सोही दिन प्रदर्शनकारीहरूले प्रहरी हवल्दार चिजकुमार कुमाललाई चारैतिरबाट घेरा हालेर कुटपिट गरी हत्या गर्ने प्रयास गरेका थिए ।

नजिकै बसोबास गर्ने साहले आफ्नो ज्यानको पर्बाह नगरी प्रहरीलाई बचाउन प्रयास गरेकी थिइन् । सो क्रममा प्रदर्शनकारीहरूले पेट्रोल जस्तो ज्वलनशील पदार्थ प्रहार गर्दा उनको शरीरमा आगो लागी उनी गम्भीर घाइते भएकी थिइन् । तर, गम्भीर अवस्थामै पनि उनले प्रहरी हवल्दारको ज्यान बचाउन सफल भएकी थिइन् ।

आयोगले दुवै जनाको साहस, मानवता र जोखिमपूर्ण परिस्थितिमा देखाएको योगदानको उच्च प्रशंसा गर्दै राज्यबाट उचित सम्मान तथा पुरस्कार प्रदान गर्न सिफारिस गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.