वैशाखयता ७ हजार विपद्का घटना: ४७९ जनाको मृत्यु 

Share this
611shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १२, बिहीबार १०:०६
वैशाखयता विपद्मा परेर ४७९ जनाको मृत्यु  वैशाखयता विपद्मा परेर ४७९ जनाको मृत्यु 

काठमाडौं । देशभर वैशाखदेखि हालसम्म विपद्का घटनाले निकै ठुलो मानवीय र भौतिक क्षति पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो ११ महिनाभन्दा बढीको अवधिमा देशभर ७ हजार २३१ वटा विपद्का घटना दर्ता भएका छन् । विपद्का घटनामा परी देशभर ४७९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, विपद् मा परेका ३८ जना अझै बेपत्ता छन् भने १ हजार ८ सय जना घाइते भएको छन् । विपद्का कारण देशभरका १३ हजार ९८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा धेरै क्षति र घटना आगलागीका कारण भएका छन् । देशभर ३ हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, वन डढेलोका २७९ घटना भएका छन् । हिउँदे खडेरी र बढ्दो गर्मीसँगै आगलागी र डढेलोको जोखिम अझै बढ्दो क्रममा छ ।

त्यसपछि पहिरोका ६०४, सर्प दंशका ६ सय, जनावर आक्रमणका ५०४, हुरी बतासका ४५१, भारी वर्षाका ४४२ र चट्याङका ४०६ घटना दर्ता भएको छ ।

यसैगरी, बाढीका ३२१ र अन्य विपद् मध्ये लेक लागेका १२३, हिउँ पहिरोका पाँच र भूकम्पका सात घटना भएका छन् । साथै, असिना र डुङ्गा पल्टेका २–२ घटना तथा असिनासहित हुरी र शीतलहरका एक–एक घटना पनि घटेको प्राधिकरणले जनाएको छ ।

यता, पछिल्लो विवरणअनुसार चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म मात्र २६ वटा विपद्का घटना भएका छन् । एकै दिन ९ जिल्लाका १३ स्थानमा आगलागी हुँदा १० जना घाइते भएका छन् । प्राधिकरणले बढ्दो विपद्का घटनाप्रति सतर्क रहन र पूर्वतयारीका उपायहरू अपनाउन सबैलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.