देशभर रामनवमीको रौनक, शुक्रबार सार्वजनिक बिदा

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार ०७:१८

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जन्मोत्सवका रूपमा मनाइने रामनवमी पर्व आज (शुक्रबार) देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थासहित मनाइँदैछ ।

बिहानैदेखि विभिन्न मन्दिरहरूमा पूजाआराधना गर्ने भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । सरकारले यस अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।

विशेषगरी रामजानकी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुहरू पूजा, आरती र दर्शनका लागि लामो लाइन बसेका छन् । धार्मिक वातावरणले जनकपुर क्षेत्र पूरै भक्तिमय बनेको छ । त्यस्तै, काठमाडौंसहित देशका अन्य स्थानमा रहेका राम मन्दिरहरूमा पनि पूजाआजा र भजनकीर्तन भइरहेको छ ।

हिन्दू धर्मावलम्बीहरूको विश्वासअनुसार रामनवमीका दिन व्रत बस्ने, उपवास गर्ने र भगवान् रामको पूजाआराधना गर्ने व्यक्तिलाई सुख, शान्ति र समृद्धि प्राप्त हुनेछ । त्यसैले पनि धेरै भक्तजनले रामनवमीमा दिनभर व्रत बसेर मन्दिरमा पूजा गर्ने परम्परा छ ।

धर्मग्रन्थहरूका अनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याको जेठो पुत्रका रूपमा भगवान् रामको जन्म आजकै दिन भएको उल्लेख पाइन्छ । भगवान् विष्णुको अवतारका रूपमा लिइने रामले अधर्ममाथि धर्मको विजय स्थापित गरेको कथा हिन्दू समाजमा स्थापित छ ।

वाल्मीकि रामायणमा वर्णन भएअनुसार रामले मिथिलाका राजा जनककी पुत्री सीतासँग विवाह गरेका थिए । पछि उनले राक्षसहरूको विनाश गर्दै धर्म, न्याय र आदर्श जीवनको उदाहरण प्रस्तुत गरेको धार्मिक मान्यता एवं जनविश्वास छ ।

रामनवमी पर्वले धार्मिक आस्थासँगै सांस्कृतिक एकता र नैतिक जीवनका मूल्यहरूलाई पनि स्मरण गराउँछ । देशभरका मन्दिरहरूमा दिनभर पूजाआराधना र धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । शुक्रबार चैते दसैं पर्वको महानवमी पनि हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.