
काठमाडौं । दोलखाको लाप्चाबाट चरिकोटका लागि शुक्रबार (आज) दिउँसो उडेको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।
कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले काठमाडौंबाट चरिकोटका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर चरिकोटबाट लाप्चा गएको र त्यहाँबाट फर्कने क्रममा सम्पर्क हुन नसकेको जानकारी दिए । उनका अनुसार हेलिकप्टरमा चालक दलका एक जनासहित ६ जना छन् ।
यसअघि रसुवाको लाङटाङ क्षेत्रमा हेलिकोप्टर सम्पर्कविहीन भएको भनिएको थियो । तर, रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले हेलिकप्टर लाङटाङ नभई दोलखाका लागि उडेको जानकारी पाएको बताए।



















