
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेबाट प्रहरीले लागूऔषध गाँजासहित १ युवकलाई पक्राउ गरेको छ। शनिबार राति करिब १० बजेको समयमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट खटिएको संयुक्त गस्ती टोलीले चतराबाट शुक्रबारेतर्फ आउँदै गरेको भारतीय मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गरेको थियो। त्यस क्रममा मोटरसाइकलको पछाडि प्लास्टिकको बोरामा लुकाएर राखिएको २५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–१ बस्ने २३ वर्षीय राकेश कुमार यादव रहेका छन्। प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकल र अवैध लागूऔषध गाँजा बरामद गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ।
प्रहरीले यादवमाथि लागूऔषध नियन्त्रण ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यो गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्याउन लागिएको थियो भन्नेबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताएका छन्।

























