
काठमाडौं । ‘अप्रिल फूल डे’ आज (बुधबार) परेको छ । प्रत्येक वर्ष अप्रिल १ तारिखका दिन विश्वभर हाँसो, ठट्टा र रमाइलोका साथ ‘अप्रिल फूल’ मनाउने चलन छ ।
यस दिन मानिसहरूले एकअर्कालाई हल्का मजाक, साना प्र्याङ्क, झुटा र रमाइला सूचना दिएर तथा ढाँटेर ‘फूल’ बनाउने चलन छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा विशेषगरी युवापुस्तामाझ यसको प्रभाव बढ्दै गएको देखिन्छ ।
सामाजिक सञ्जालमा रमाइला पोस्ट, साथीभाइबीच साना ठट्टा र हल्का मजाक गर्ने गतिविधि ‘अप्रिल फूल’को दिन सामान्यजस्तै बनिसकेको छ । यद्यपि, यस्तो रमाइलोले कहिलेकाहीँ सीमा नाघ्दा गलत सूचना फैलिनुका साथै कसैलाई मानसिक रूपमा असर पर्ने जोखिम पनि रहने गर्दछ ।
इतिहासकारहरूका अनुसार ‘अप्रिल फूल डे’ युरोपबाट सुरु भएको मानिन्छ । सन् १६औँ शताब्दीमा फ्रान्समा नयाँ वर्ष जनवरीमा सारिएपछि पुरानै चलनअनुसार अप्रिलमा मनाउनेहरूलाई मजाक गर्दै ‘मूर्ख’ बनाउने परम्पराबाट यसको सुरुवात भएको विश्वास गरिन्छ ।
रमाइलो गर्दा मर्यादा र जिम्मेवारीलाई ख्याल गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । साना ठट्टाले सम्बन्ध मजबुत बनाउन सक्छन्, तर संवेदनशील विषयमा गरिएको मजाकले नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सचेत हुन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

























