
सप्तरी । सप्तरीको महत्त्वपूर्ण सिँचाइ आयोजनाको रूपमा रहेको कोशी पम्प चन्द्र नहर सिँचाइ प्रणालीको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू हटाइने भएको छ ।
नहरको जग्गामा विभिन्न व्यक्तिहरूले कब्जा गरेर निजी प्रयोजनमा प्रयोग गरेपछि सिँचाइ व्यवस्थापन कार्यालयले यसलाई खाली गराउने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो ।
कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजले गत चैत १६ गते सार्वजनिक सूचना जारी गर्दै नहरको जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा र अन्य संरचनाहरू ७ दिनभित्र हटाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र जग्गा खाली नगरे प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने र संरचनाहरू हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने चेतावनी कार्यालयले दिएको छ ।
अतिक्रमणका अतिरिक्त नहरमा विभिन्न किसिमका फोहोर फाल्ने र घरको ढल सिधै मिसाउने जस्ता कार्यहरू भइरहेको प्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नहरको पानीलाई दूषित बनाउने र सिँचाइ प्रणालीमा अवरोध पुर्याउने यस्ता गतिविधि नगर्न र गरेमा कानुनी दायरामा ल्याइने सूचनामा उल्लेख गरिएको छ ।
नहरको जग्गा अतिक्रमण गरी कतिपयले स्थायी तथा अस्थायी घर टहरा निर्माण गरेका छन् भने कतिपयले सो क्षेत्रमा घाँस, दलहन बाली र रुख–बिरुवा लगाएर जग्गा ओगटेका छन् । यसले गर्दा किसानहरूले आफ्नो खेतबारीसम्म सिँचाइको पानी पुर्याउन सास्ती भोग्नुपरेको छ । स्थानीयका अनुसार नहरको बाटो साँघुरो बनाइएका कारण खेतमा ट्याक्टर लैजान समेत कठिन भएको छ, जसले गर्दा खेतीपातीको सिजनमा किसानहरू प्रत्यक्ष मारमा परेका छन् ।
कार्यालयले नहर कम्पाउन्ड क्षेत्रभित्र सरकारी सम्पत्तिको हानि नोक्सानी पुर्याउने र वर्जित गतिविधि गर्ने जोसुकैलाई पनि कानुन अनुसार सजाय हुने स्पष्ट पारेको छ । सार्वजनिक सम्पत्तिको संरक्षण र सिँचाइ प्रणालीलाई व्यवस्थित बनाउन यो कदम चालिएको कार्यालयको भनाइ छ ।
यस कदमले नहर क्षेत्रमा हुने अनधिकृत दोहन रोकिने र वास्तविक किसानहरूले सहजै सिँचाइ सुविधा पाउने विश्वास लिइएको छ ।

























