
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि इरान–अमेरिका सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
इरानले अमेरिकामाथिको विश्वास पूर्ण रूपमा गुमिसकेको सार्वजनिक रूपमा घोषणा गरेको छ । यो सम्भावित सैन्य कदमप्रतिको कडा चेतावनी हो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको विगतको अनुभव अत्यन्त कमजोर रहेको भन्दै अब कुनै पनि नयाँ समझदारी वा वार्ताप्रति विश्वास नरहेको स्पष्ट पारेका छन् । उनले विशेष गरी सन् २०१५ मा भएको इरानको आणविक सम्झौतालाई स्मरण गर्दै अमेरिका आफैं उक्त सम्झौताबाट पछि हटेको तथ्यले इरानको विश्वास टुटेको बताएका हुन् ।
‘त्यसैले अब कुनै पनि नयाँ वार्तामा विश्वास गर्ने आधार छैन,’ अराघचीले भने । उनका अनुसार अहिले पनि केही सहयोगी राष्ट्रहरूमार्फत अमेरिकासँग सन्देश आदानप्रदान भइरहेको छ । तर, त्यसलाई औपचारिक संवाद भन्न नसकिने उनले स्पष्ट पारे ।
राष्ट्रपति ट्रम्पले मंगलबार राति ह्वाइट हाउसको ओभल कक्षमा बोल्दै इरानसँग जारी तनाव वा सम्भावित युद्ध दुईदेखि तीन हप्ताभित्र अन्त्य हुन सक्ने दाबी गरेका थिए । उनले इरानलाई आणविक शक्ति केन्द्र बन्नबाट रोक्ने आफ्नो लक्ष्य लगभग पूरा भइसकेको उल्लेख गर्दै अमेरिकी कारबाही अन्तिम चरणमा पुगेको बताएका थिए ।
ट्रम्पको उक्त अभिव्यक्तिपछि इरानले अझ कडा प्रतिक्रिया दिएको हो । विदेशमन्त्री अराघचीले अमेरिकालाई लक्षित गर्दै इरान कुनै पनि किसिमको स्थल आक्रमणबाट नडराउने र त्यसको प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् ।
‘हामी उनीहरूको प्रतीक्षामा छौँ,’ उनले भने, ‘इरानले जमिन युद्ध चाहँदैन । तर, यदि त्यस्तो अवस्था आयो भने जवाफ दिन सक्षम छ ।’
उनले अमेरिकी पक्षलाई चेतावनी दिँदै यदि स्थल आक्रमण भयो भने त्यो ठूलो गल्ती सावित हुने बताएका छन् । ‘इरानलाई आफ्नो सुरक्षा कसरी गर्ने भनेर राम्रोसँग थाहा छ,’ उनले भने ।
इरानको पछिल्लो अभिव्यक्तिले दुई देशबीचको अविश्वास झन् गहिरिएको संकेत गरेको छ । एकातिर अमेरिका आफ्नो रणनीतिक लक्ष्य हासिल हुने दाबी गरिरहेको छ ।
अर्कोतर्फ इरान कुनै पनि दबाबमा नझुक्ने सन्देश दिँदै आएको छ । यसले आगामी दिनमा क्षेत्रीय सुरक्षा अवस्था अझ जटिल बन्न सक्ने अनुमान गरिएको छ ।


















