
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने संकेत दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा सैन्य कमान्डरसँग उभिएको तस्बिर सार्वजनिक गर्दै ‘यो आँधी आउनुअघिको शान्ति हो’ भन्ने सन्देश लेखेका छन् । उनको सन्देशसँगै अमेरिकाले फेरि इरानमाथि हमलाको तयारी गरिरहेको हुनसक्ने विभिन्न सञ्चारमध्यमले उल्लेख गरेका छन् ।
सार्वजनिक तस्बिरमा ट्रम्प युद्धपोतको डेकमा उभिएको देखिन्छ । तस्बिरमा वरिपरि आँधीबेहरीजस्तो वातावरण देखाइएको छ भने जहाजमा इरानको झन्डा फहराइएको छ । उनको उक्त अभिव्यक्तिलाई सम्भावित सैन्य कारबाहीको चेतावनीका रूपमा हेरिएको छ ।
यो अभिव्यक्ति अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले अमेरिका र इजरायलले इरानविरुद्ध नयाँ हमला गर्ने तयारी गरिरहेको दाबी गरेको केही दिनपछि आएको हो । समाचारअनुसार अमेरिकी रक्षा मन्त्रालयले इरानका सैन्य तथा पूर्वाधार संरचनामाथि ठूला हवाई आक्रमणका विभिन्न विकल्प तयार पारेको छ । अन्तिम निर्णय राष्ट्रपतिले गर्ने बताइएको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आवश्यक परे सैन्य कारबाही अझ विस्तार गर्न सकिने बताएका छन् । उता इरानले पुनः हमला भए अझ शक्तिशाली जवाफ फर्काइने चेतावनी दिएको छ । केही सातायता युद्धविराम कायम रहे पनि पछिल्लो घटनाक्रमले मध्यपूर्वमा फेरि तनाव बढ्ने सम्भावना रहेको देखिन्छ ।


















