
काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघीय मिसन (युनमिस) मा खटिएका प्रहरी अधिकृतहरू संयुक्त राष्ट्र संघीय पदक (युएन मेडल) बाट सुशोभित भएका छन् ।
एक विशेष समारोहका बीच संयुक्त राष्ट्र संघीय प्रहरी सल्लाहकार श्री फैसल शाहकार र युनमिस प्रहरी आयुक्त श्री माइनोल्फ स्लटम्यानले उक्त पदक प्रदान गरेका हुन् ।

नेपाली प्रहरी अधिकृतहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदान र कर्तव्यपरायणताको कदर गर्दै उनीहरूलाई यो पदक प्रदान गरिएको हो । शान्ति मिसनमा खटिएका नेपाली सुरक्षाकर्मीहरूको अनुशासन र कार्य दक्षताको सो अवसरमा उच्च प्रशंसा समेत गरिएको थियो ।



















