कैद र जरिबाना छलेर भोजपुरबाट बसाइँसराइ, मोरङमा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २०, शुक्रबार १८:११

विराटनगर । ठगी मुद्दामा अदालतले तोकेको कैद र जरिबाना छलेर भोजपुरबाट बसाइँसराइ गरी मोरङ झरेका एक जना व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् ।

ठगी मुद्दामा जिल्ला अदालत भोजपुरबाट दोषी ठहर भएका ६२ वर्षीय केशवप्रसाद सुवेदी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुर र मोरङको प्रहरी चौकी रमाइलोबाट खटिएको संयुक्त टोलीले बिहीबार साँझ मोरङको कानेपोखरी गाउँपालिका–५ कालीकोशीबाट पक्राउ गरेको हो ।

Advertisement

भोजपुर प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार जिल्ला अदालत भोजपुरले सुवेदीलाई २०६९ साल जेठ १६ गते दोषी ठहर गरेको थियो । अदालतले ठगी मुद्दामा उनलाई १ वर्ष ३ महिना कैद र १० लाख १७ हजार रूपैयाँ जरिबाना गरेको जानकारी पराजुलीले दिए ।

उनका अनुसार अदालतबाट दोषी ठहर हुँदा सुवेदी भोजपुरको रामप्रसादराई गाउँपालिका–१ का बासिन्दा थिए । ‘मुद्दा चल्दा स्थायी वतन भोजपुर उल्लेख छ,’ उनले भने । तर, उनी पछि रामप्रसादराईबाट बसाइँ सरेर मोरङको कानेपोखरी झरेको पाइएको प्रहरीले जनाएको छ ।

मोरङको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख, डीएसपी तुलसीराम अर्यालका अनुसार अदालतले तोकेको कैद र जरिबाना भुक्तान नगरिकन सुवेदी भोजपुरबाट परिवारसहित कानेपोखरी–५ मा बसाइँ सरेको पाइएको छ । ‘१३ वर्षअघि नै सम्मानित भोजपुर अदालतले दोषी ठहर गर्दै कैद र जरिबानाको फैसला गरेको पाइयो । तर, त्यसपछि सुवेदी भोजपुर छाडेर परिवारसहित मोरङ झरेको पाइयो,’ उनले भने, ‘विशेष सूचनाका आधारमा भोजपुर र रमाइलोबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनमा प्रहरी सक्रिय रहेकाले बसाइँसराइ गरेर कैद र जरिबाना छल्न खोजे पनि त्यो सम्भव भएन ।’

डीएसपी अर्यालका अनुसार कैद र जरिबाना भुक्तान नगरिकन सुवेदी लामो समयदेखि फरार थिए । खोजी गर्दै जाँदा मोरङ आएर बसेको पाइयो । दोषी ठहर भएको १३ वर्षपछि पक्राउ परेका सुवेदीलाई प्रहरीले शुक्रबार जिल्ला अदालत मोरङमा बुझाएको छ । प्रहरीले पेस गरेपछि अदालतले सजाय भुक्तानका लागि जिल्ला कारागार मोरङ चलान गरेको छ ।

कोनेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङले परिवारसहित सुवेदी भोजपुरबाट बसाइँ सरेर आएको बताए । ‘२०७२–०७३ सालतिर बसाइँ सरेर आएको पाइयो । त्योबाहेक अरु कुरा थाहा छैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.