
भक्तपुर। आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी बताउँदै एक व्यक्तिको अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले ५३ वर्षीय दीपक खड्कालाई पक्राउ गरेको छ । मकवानपुर गढी गाउँपालिका-३ घर भएका खड्कालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौँको गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
घटना विवरण अनुसार गत माघ २८ गते खड्काले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ बस्ने ४७ वर्षीय पूर्ण बहादुर थापाको घरमा पुगेर आफ्नो नक्कली परिचय दिएका थिए । उनले थापालाई होटलमा पुर्याई डर, धाक र धम्की देखाएर अपहरण तथा शरीर बन्धक बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार पक्राउ परेका खड्कामाथि ‘अपहरण तथा शरीर बन्धक’ कसुर अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ । फरार रहेका उनलाई खोजी गर्ने क्रममा गौशालाबाट समातिएको हो ।
हाल अदालतबाट म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली परिचय दिएर सर्वसाधारणलाई त्रसित बनाउने र आपराधिक गतिविधि गर्नेहरूमाथि प्रहरीले निगरानी बढाएको छ ।



















