कमलकुमार स्वर्णकारको घरबाट बरामद भएका ब्लू बुकलगायतका कागजात ।विराटनगर । विराटनगर महानगरपालिका–४ खारजीस्थित यातायात व्यवस्था कार्यालय परिसरमै बसेर सरकारी छाप र अधिकृतको दस्तखत किर्ते गर्ने एक जना लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार ब्लू बुक (सवारी दर्ता किताब) नवीकरणका नाममा ठगी गर्दै आएको पाइएपछि विराटनगर–६ घर भएका ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई पक्राउ गरिएको हो । लेखापढीको काम गर्दै आएका स्वर्णकारले यातायात कार्यालय परिसरभित्रै बसेर सेवाग्राहीहरूको सवारीसाधन सम्बन्धी कागजात नवीकरण गर्ने क्रममा बदमासी गरिरहेको पत्ता लागेको छ ।
सरकारी छाप, दस्तखत तथा अधिकृतको हस्ताक्षर नै किर्ते गरी अवैध रूपमा सवारीसाधनको नवीकरण प्रक्रिया पूरा गरिदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लामिछानेको भनाइ छ । उनका अनुसार स्वर्णकारलाई चैत १६ गते दिउँसो पक्राउ गरिएको हो ।
‘स्वर्णकारले को ३९ प ९५७९ नम्बरको मोटरसाइकलको ब्लू बुक नवीकरण गरिदिने भन्दै जिम्मा लिएका रहेछन् । तर, उक्त ब्लू बुकमा सरकारी छाप र हस्ताक्षर किर्ते गरेर सम्बन्धित सवारी धनीलाई फिर्ता गरेको पत्ता लाग्यो,’ डीएसपी लामिछानेले भने । उनका अनुसार अन्य सेवाग्राहीहरूले नवीकरणका लागि बुझाएका विभिन्न सवारीसाधनका दर्ता किताबहरूमा समेत नक्कली छाप र दस्तखत किर्ते गरेर स्वर्णकारले ठगी गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई यातायात कार्यालय परिषरमै फेला पारेको थियो । त्यसपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङमा पुर्याइयो । पीडितले दिएको जाहेरीका आधारमा सरकारी छाप दस्तखत किर्ते गरी ठगी गरेको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्वर्णकारको घर खानतलासी गर्दा विभिन्न ११ थान ब्यू बुकहरु फेला परेको डीएसपी लामिछानेले बताए । ती ब्यू बुक पनि किर्ते गर्दै अवैध तरिकाले नवीकरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
‘सेवाग्राहीका ब्लू बुकहरु नवीकरणका लागि जिम्मा लिने गरेको पाइयो । तर, नवीकरण गरिदिएको भन्दै ढाँटेर राजस्व नतिरिकन फर्जी रसिद उपलब्ध गराउने गरेको पत्ता लागेको छ । नक्कली छाप लगाउँदै अधिकृतको हस्ताक्षर किर्ते गरी ब्लू बुकमा रसिद नम्बर पनि फर्जी राखिदिने गरेको फेला पर्यो । नवीकरण गर्दा लाग्ने राजस्वका लागि सेवाग्राहीले बुझाएको रकम आफैं राख्दा रहेछन् । यातायात कार्यालयमा बुझाएको पाइएन,’ डीएसपी लामिछानेले भने । प्रहरीले यस घटनालाई गम्भीर सरकारी कागजात किर्ते तथा ठगीको अपराधका रूपमा लिएको छ ।
सरकारी छाप, अधिकृतको दस्तखत र सवारी दर्ता सम्बन्धी आधिकारिक कागजातहरू नै नक्कली बनाइ प्रयोग गरिएको प्रहरीको भनाइ छ । स्वर्णकारमार्फत सवारी दर्ता किताब नवीकरण वा अन्य यातायात सम्बन्धी काम गराएका कोही भएमा सम्पर्कमा आउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले कति जनासँग कति रकम लिएर यस किसिमको कार्य गरेका थिए भन्ने बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको डीएसपी लामिछानेको भनाइ छ ।



















