
विराटनगर । विराटनगरको सहरी यातायातलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन ट्राफिक प्रशासनले सिटी सफारी सञ्चालनमा नयाँ नियमसहित कडाइ गर्ने भएको छ । अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त चालकले मात्रै सिटी सफारी चलाउन पाउने व्यवस्थालाई अनिवार्य गर्न लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘नागरिक सुनुवाइ’ कार्यक्रममा यस्तो निर्णय गरिएको हो । बिना लाइसेन्स जथाभावी सफारी चलाउँदा सडक सुरक्षामा चुनौती थपिएको र दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवालाहरूले तत्काल कानुनी दायरामा ल्याउन माग गरेका थिए ।
कार्यक्रममा उठेका सुझाव र छलफलका आधारमा अब लाइसेन्स नभएका चालकले सिटी सफारी चलाउन पाउने छैनन् । चालकहरूलाई सहज रूपमा लाइसेन्स उपलब्ध गराउन यातायात सेवा व्यवस्था कार्यालय विराटनगरसँग समन्वय गरी आवश्यक प्रक्रिया मिलाइएको जानकारी दिइएको छ ।
यसका साथै, सडकमा चालकको पहिचान स्पष्ट होस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीले ‘सुरक्षित सवारी चालक’ लेखिएको विशेष ज्याकेट अनिवार्य गरेको छ । अब लाइसेन्स नभएका वा ट्राफिकले तोकेको ज्याकेट नलगाउने चालकलाई सवारी चलाउन रोक लगाइनेछ भने नियम उल्लंघन गरेमा कडा कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले यातायात क्षेत्रलाई अनुशासित बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न यो कदम चालिएको बताए । उनले लाइसेन्स बिना सवारी नचलाउन आग्रह गर्दै अबका दिनमा नियमित जाँच र कारबाहीलाई तीव्रता दिइने स्पष्ट पारे ।
सोही कार्यक्रमका अवसरमा सिटी सफारी चालकहरूलाई ‘सुरक्षित सवारी चालक’ लेखिएको ज्याकेट समेत वितरण गरिएको थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेल, यातायात व्यवसायी, सिटी सफारी चालक र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



















