
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय सुनाएको छ । अदालतले कैद सजायसँगै सात लाख रुपैयाँ जरिबाना हुने फैसला पनि गरेको छ ।
जिल्ला अदालत ताप्लेजुङका निमित्त स्रेस्तेदार रमेश तामाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका–३ का सकुन भनेर चिनिने सन्तकुमार आङ्बुहाङ जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका हुन् । उनीविरुद्ध २०८१ साल माघ २ गते अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
सो मुद्दामा सुनुवाइ प्रक्रिया पूरा भएपछि अदालतले प्रमाण र तथ्यका आधारमा उनलाई शुक्रबार दोषी ठहर गरेको हो । मुलुकी फौजदारी संहिता, २०७४ अनुसार जबरजस्ती करणीसम्बन्धी कसुरमा दोषी ठहर भएमा हुने अधिकतम सजायको दायराभित्र रहेर अदालतले कैद र जरिबाना तोकेको छ ।
यस फैसलासँगै उक्त मुद्दा कानुनी प्रक्रियाको अन्तिम चरणमा पुगेको अदालत स्रोतले जनाएको छ । जिल्ला अदालतको निर्णयपछि अब कानुनअनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ ।



















