
काठमाडौं । राजधानीमा बढ्दो गुण्डागर्दी र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले आक्रामक कदम चालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार राति सञ्चालन गरेको विशेष ‘क्लिनअप’ अपरेसनका क्रममा १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले ठमेल, दरबारमार्ग र सामाखुसी जस्ता व्यस्त व्यापारिक क्षेत्रहरूलाई केन्द्रित गरी यो अपरेसन चलाएको थियो । पक्राउ परेका व्यक्तिहरूमध्ये अधिकांशको सम्बन्ध ‘काभ्रेली समूह’ सँग रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ पर्ने मुख्य व्यक्तिहरूमा सञ्जि लामा, अशोक गिरी र ‘किमजोङ’ उपनामले चिनिने सुरेश गुरुङ रहेका छन् । प्रहरीका अनुसार, सुरेश गुरुङ कुख्यात गुन्डा नाइके श्याम लामाको समूहमा आबद्ध रही असुली र अन्य आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए ।
यस समूहका मुख्य नाइके श्याम लामा भने हाल फरार छन् । प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाउन र गुण्डागर्दी निर्मूल पार्न यो अपरेसन सुरु गरिएको जानकारी दिए । उनले भने, ‘यो लक्षित अपरेसन हो । समाजमा डर र त्रास फैलाउने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने छ । यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने छ ।’
प्रहरीले अहिले पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको छ भने यो समूहसँग जोडिएका अन्य शंकास्पद व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।

























