
बिर्तामोड। झापाका स्थापित साहित्यकार कृष्ण धरावासीलाई ‘दीर्घ साहित्य सेवा सम्मान’ प्रदान गरिएको छ। अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले उनलाई नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको हो।
नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’ मा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकीले धरावासीलाई सम्मानपत्र र नगद हस्तान्तरण गरे। नगरप्रमुख गोम्देनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख पराजुलीले सम्मानको औचित्यमाथि प्रकाश पारेकी थिइन्।
सोही अवसरमा आयोजित साहित्य विमर्श कार्यक्रममा साहित्यकारहरू चन्द्र भण्डारी, सीमा आवास र दीपेन्द्र आचार्यले प्रमुख वक्ताका रूपमा आफ्ना विचार राखेका थिए। विमर्शको सहजीकरण पत्रकार सन्तोष आचार्यले गरेका थिए भने विभिन्न स्रष्टाहरूले कविता, गीत र गजल वाचन गरेका थिए।
अर्जुनधारा नगरपालिकाले यसअघि सरोजकुमार ओली, विष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार र कृष्ण बराललाई यो सम्मान प्रदान गरिसकेको छ। धरावासी यस सम्मानबाट सम्मानित हुने छैटौँ व्यक्तित्व हुन्।

























