
काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो गुन्डागर्दी र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरु गरेको विशेष अपरेसनका क्रममा चर्चित गुन्डा नाइके ‘घैँटे’ समूहका सदस्य पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गए राति सामाखुसी क्षेत्रबाट ‘सानु भाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई नियन्त्रणमा लिएको हो ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानु भाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’ का निकट सहयोगी मानिन्छन् । उनी यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए ।
काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न र गुन्डागर्दीलाई निरुत्साहित गर्न शुक्रबार रातिदेखि विशेष अपरेसन सञ्चालन गरिएको हो । सोही क्रममा सानु भाइसहित अन्य १७ जनालाई पनि शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।
पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























