
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत एकैदिन ३० जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सार्वजनिक शान्ति सुरक्षा कायम गर्न विभिन्न स्थानमा गरिएको निगरानी र छड्के कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादुर खड्काले अप्रेसन निरन्तर जारी रहेको जानकारी दिँदै अघिल्लो दिन पनि ६० जना पक्राउ गरिएको बताएका छन् ।
उनका अनुसार पक्राउ परेकामध्ये केही व्यक्ति शंकास्पद गतिविधिमा संलग्न देखिएका थिए भने केही सार्वजनिक स्थानमा होहल्ला, अव्यवस्थित समूहगत गतिविधि तथा लागु पदार्थ सेवनमा संलग्न रहेको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ । साथै, सार्वजनिक सुरक्षामा खलल पुर्याउने गतिविधिमाथि कडाइ गरिने पनि प्रहरीको भनाइ छ ।

























