
काठमाडौं। सामाजिक सञ्जालमा २० वर्षीया अमिशा पराजुलीलाई लक्षित गरी अपशब्द र अश्लील टिप्पणी गरेको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय अभिषेक चौधरी रहेको साइबर ब्यूरोले जानकारी दिएको छ।
चौधरीले अमिशाको भिडियोमा अपशब्द लेखेको स्वीकार गरेपछि उनलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएकी अमिशाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको आलोचना गरेकी थिइन्।
सोही भिडियो सार्वजनिक भएपछि उनीमाथि डिजिटल माध्यमबाट धम्की र गालीगलौजको वर्षा भएको थियो। आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै अमिशाले प्रहरीमा उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा साइबर ब्यूरोले अनुसन्धान सुरु गरी अपशब्द कमेन्ट गर्ने अन्य व्यक्तिहरूको समेत खोजी कार्य तीव्र पारेको छ।

























