सांकेतिक तस्बिरदमक। झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा बस्ने ५४ वर्षीय तुल बहादुर बिष्ट हुम्से दुम्से सामुदायिक वनमा मृत फेला परेका छन्। बिष्ट गत चैत १९ गते बिहान १०स्०० बजेतिर बाख्राका लागि घाँस काट्न वनतर्फ गएका थिए।
त्यस समयदेखि घर नफर्किएका उनको आफन्त र छरछिमेकीले खोजी गर्ने क्रममा सोमबार बिहान सामुदायिक वनभित्रै शव फेला पारेका हुन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिष्टको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ। घटनास्थलको प्रकृति हेर्दा उनलाई जङ्गली हात्तीले आक्रमण गरी मारेको हुन सक्ने आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

























