
काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा मध्यराति प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गौशाला–पिंगलास्थान आसपास शंकास्पद गतिविधि देखेपछि अपरेसन चलाएको थियो । रोक्न खोज्दा गाडी नरोकेपछि प्रहरीले गोली चलाएको जनाइएको छ । त्यसपछि दुवैलाई नियन्त्रणमा लिइएको हो । उनीहरू सवार गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीहरूको परिचय भने अझै सार्वजनिक गरिएको छैन । गाडीबाट बरामद सामग्रीका बारेमा पनि प्रहरीले खुलाएको छैन ।
प्रहरीका अनुसार यो घटना अन्तरदेशीय लागुऔषध सञ्जालसँग जोडिएको हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ ।



















