
बुटवल । रुपन्देहीमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् भने तीन जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा शंकास्पद मोटरसाइकल रोकेर चेकजाँच गर्ने प्रयास गर्दा सवार व्यक्तिहरू भाग्न खोजेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा ढुंगा प्रहार भएपछि प्रहरीले दुई राउण्ड गोली चलाएको हो ।
गोली लागेर घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । बाँया खुट्टाको पिँडुलामा गोली लागेका उनको भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले गोली चलाएर भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट फेनरागन, डाइजेपाम र ब्रुफिन गरी ठूलो मात्रामा लागूऔषध बरामद गरेको जनाएको छ ।
यसैबीच, प्रहरीले काठमाडौंको पिंगलास्थान क्षेत्रबाट पनि लागुऔषध कारोबारको आशंकामा गोली चलाएर दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























