
पोखरा । पोखराको सभागृह चोकमा बुधबार साँझ एक जना महिलाको हत्या भएको छ ।
प्रहरीका अनुसार धारिलो हतियार प्रहार गरेर जिरो किमी आसपास बसोबास गर्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अपरिचित युवकले सडकपेटीमा उभिएको अवस्थामा पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । आक्रमणपछि आरोपी दुई पांग्रे सवारीमा फरार भएको र खोजी जारी रहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए ।
घटनापछि सभागृह चोक क्षेत्र केही समय तनावग्रस्त बनेको थियो । मृतक केही समयदेखि सेदी क्षेत्रमा बस्दै आएको बुझिएको छ । पारिवारिक र व्यक्तिगत पृष्ठभूमिका बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनाको कारण, सम्भावित विवाद र आरोपीको पहिचान खुलाउने प्रयास गरिरहेको डीएसपी बस्नेतको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धानमा सहयोग गर्न सबैमा आह्वान गरेको छ ।

























