
धनकुटा । दलित महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन उद्यमशीलतासँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। धनकुटा नगरपालिकाको सहयोग तथा दलित महिला संघ धनकुटाको आयोजनामा धनकुटामा सुरु भएको ‘दलित महिला सशक्तीकरण’ कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले दलित महिलाहरू अझै पनि घरभित्रै सीमित हुँदा धेरै अवसरबाट वञ्चित भएको उल्लेख गरे। उनीहरूलाई विभिन्न सीपमूलक तथा रोजगारमूलक तालिममार्फत आत्मनिर्भर बनाउनुपर्ने आवश्यकतामा वक्ताहरूको जोड थियो। दलित महिला संघ धनकुटाकी सचिव कोपिला शंकरले अन्याय र पीडामा परेका दलित महिलाहरू खुलेर बोल्न नसक्दा पछि परेको बताइन्। धेरैजसो महिलाहरू आर्थिक रूपमा पुरुषमा निर्भर रहेकाले पनि समस्या भएको उनको भनाइ थियो।
यसैगरी संघकी अध्यक्ष लक्ष्मी परियारले अधिकार प्राप्तिका लागि दलित महिला आफैँ जागरुक हुनुपर्नेमा जोड दिइन्। संविधानले प्रदान गरेका अधिकारका विषयमा जानकारी नहुँदा पनि महिलाहरू पछाडि परेको उनले उल्लेख गरिन्। ‘आफूले पाउने अधिकार के-के हुन्, त्यसबारे सचेत भएर सशक्त रूपमा अगाडि बढ्न जरुरी छ,’ अध्यक्ष परियारले भनिन्।
कार्यक्रममा दलित महिलालाई उद्यमशीलतामा जोड्न गैरदलित समुदायको पनि सहयोग र सद्भाव आवश्यक रहने धारणा व्यक्त गरिएको थियो। साथै, दलित समुदायका महिलाहरूमा युवा नेतृत्व विकास गरी निर्धक्कसँग समाजमा अघि बढ्न प्रेरित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।



















