
विराटनगर । विराटनगर महानगरपालिका–७ मा रहेको सामाजिक संस्था मारवाडी सेवा सदनले आफ्नो स्थापनाको २५ औँ वर्ष पूरा गरेको अवसरमा ‘रजत जयन्ती’ भव्यताका साथ मनाएको छ ।
सामाजिक सेवाको पवित्र उद्देश्य बोकी २०५७ सालमा स्थापित यस सदनले एक विशेष समारोहका बीच रजत जयन्ती मनाएको हो ।

रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए । सो अवसरमा प्रदेश प्रमुख खापुङले सदनको परिसरमा भर्खरै निर्माण गरिएको ‘रजत मण्डप’ को उद्घाटन गरे ।
साथै, संस्थाको २५ वर्षे यात्रालाई समेटेर तयार पारिएको ‘रजत जयन्ती स्मारिका’ को समेत विमोचन गरिएको थियो । प्रमुख अतिथि खापुङसँगै सदनका अध्यक्ष नन्दकिशोर राठी, पूर्वअध्यक्षहरू सुरेशकुमार शर्मा, देवकीनन्दन अग्रवाल लगायतले स्मारिका विमोचनमा गरेका थिए ।

समारोहमा सदनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा सदनका संस्थापक अध्यक्ष देवेन्द्रकुमार अग्रवाल (राजगढिया), पूर्वअध्यक्षहरू सुरेशकुमार शर्मा, ताराचन्द खेतान, र देवकीनन्दन अग्रवाल रहेका थिए ।
त्यसैगरी, संस्थापक सदस्यहरू खेमचन जैन, नन्दकिशोर राठी, महेश सिंघानिया र राजकुमार चैनवालालाई पनि सम्मान पत्रद्वारा सम्मानित गरियो ।
संस्थाले आफ्ना दिवंगत संस्थापकहरूलाई पनि मरणोपरान्त सम्मान अर्पण गरेको छ । जसमा पूर्वअध्यक्षद्वय स्व. महावीर तोदी र स्व. जगदीश राठी तथा संस्थापक कोषाध्यक्ष स्व. महेन्द्र गोल्छा रहेका छन् । कर्मचारीको तर्फबाट सदनका सहायक कर्मचारी राजुकुमार श्रेष्ठलाई पनि उनको सेवाको कदर गर्दै सम्मान गरिएको थियो ।

सदनका अध्यक्ष नन्दकिशोर राठीले नवनिर्मित ‘रजत मण्डप’ ले सर्वसाधारणलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘भवन बाहिर कार्यक्रम गर्दा त्रिपाल राख्न मात्रै आयोजकले २ लाखदेखि २ लाख पचास हजार रुपैयाँ अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता थियो । अब यो मण्डप तयार भएपछि त्यो खर्च जोगिने छ ।’
अध्यक्ष राठीका अनुसार सदनले विशेषगरी कन्या पक्ष (विवाहका लागि दुलही पक्ष) लाई प्राथमिकता दिँदै आएको छ । न्यून शुल्कमा मण्डप उपलब्ध गराउँदा विभिन्न क्षेत्रका मानिसहरूलाई कार्यक्रम गर्न सहज र किफायती हुने उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख खापुङ, पूर्वअध्यक्षहरू सुरेशकुमार शर्मा, ताराचन खेतान, देवकीनन्दन अग्रवाल लगायतले सदनले पुर्याएको सामाजिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सेवामुखी कार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए ।

























