
काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसरले उनलाई शुक्रबार नियन्त्रणमा राख्नुपर्ने ठोस आधार नदेखिएपछि हाजिरी जमानीमा छाडेको हो।
अमेरिकामा बसोबास गर्ने एक युवतीले सामाजिक सञ्जालमार्फत बलेमाथि बलात्कारको गम्भीर आरोप लगाएकी थिइन्। सोही आरोप र सार्वजनिक बहसपछि प्रहरीले उनलाई चैत २१ गते बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो। यद्यपि, पीडित भनिएकी युवतीले हालसम्म औपचारिक रूपमा उजुरी (जाहेरी) दर्ता नगरेकाले प्रहरीले उनलाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको थियो।
जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएकोमा जाहेरी नपरेपछि प्रहरीले उनलाई रिहा गरेको हो। रिहा भए पनि अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी उनलाई छाडिएको प्रहरी स्रोतले जनाएको छ। यो घटनाले पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको थियो।

























