मोरङ प्रहरी : प्रभावशाली प्रदर्शन, अपराधविरुद्ध आक्रामक

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार १७:४५

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले पछिल्लो समय प्रभावशाली प्रदर्शन गर्दै अपराधविरुद्ध आक्रामक हिसाबले ठूला एवं विशेष अपरेशन चलाइरहेको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षालाई मध्यनजर गर्दै चलाइएको कारबाहीबाट प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ ।

प्रहरीकै सक्रियताका कारण शान्ति सुरक्षाको अवस्था पनि सदृढ हुँदै गइरहेको छ । नेपाल प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान हो । त्योबाहेक अन्य कैयौं जिम्मेवारी र दायित्व पनि प्रहरीकै थाप्लोमा थोपरिएको हुन्छ । भारतसँगको खुला सीमाका कारण अनेक आपराधिक चुनौतीको सामना गर्दै अघि बढिरहेको प्रहरी मोरङको शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन, अपराध नियन्त्रण गर्न र अपराधको प्रभावकारी अनुसन्धान गर्न अब्बल देखिएको छ ।

मोरङमा प्रहरीको कामकारबाही प्रभावकारी छ कि छैन भनेर हेर्नलाई चैत महिनाको हालसम्मको तथ्यांकलाई हेर्दा थाहा हुन्छ । नियमित कामकारबाहीसँगै जघन्य अपराधको अनुसन्धान, लागुऔषध नियन्त्रण तथा चोरी तस्करी (भन्सार छली) नियन्त्रण र ट्राफिक व्यवस्थापनमा प्रहरीले ठूलो उपलब्धि हासिल गरेको छ । प्रहरीले विभिन्न क्षेत्रलाई लक्षित गरी एकैपटक विशेष अभियान चलाएर कारबाही तीव्र पारेको छ ।

चैत महिनाको हालसम्म जिल्लामा विभिन्न आपराधिक घटनासँग सम्बन्धित १७९ वटा मुद्दा दर्ता भएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार अपराधमा संलग्नमध्ये ११७ जना अभियुक्त पक्राउ परेका छन् । फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

‘दर्ता भएका मुद्दामध्ये बैंकिङ कसुर, लागुऔषध र ज्यानसम्बन्धीका धेरै छन्,’ लामिछानेले भने, ‘यो तथ्यांकले पछिल्लो समय मोरङमा अपराधको स्वरूप कस्तो बन्दै गएको छ भन्ने संकेत गर्छ ।’ लागुऔषध नियन्त्रण अभियानअन्तर्गत १३ वटा मुद्दा दर्ता भएकामा लागुऔषध ओसापसार र कारोबारमा संलग्न १ जना महिलासहित २२ जना पक्राउ परेको उनले बताए ।

प्रहरीले चैत महिनाको हालसम्ममा १७५ ग्राम ब्राउन सुगर (खैरो हेरोइन), ४३१ किलो गाँजा, २६ हजार ३११ थान प्रतिबन्धित ट्याब्लेट र १ ग्राम चरेस बरामद गरेको छ । लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि ‘क्यान’ अभियानलाई तीव्र पारेर सिमावर्ती क्षेत्रमा निगरानी र सुधारात्मक गतिविधि बढाइएको प्रहरीको भनाइ छ ।

यही अवधिमा मोरङ प्रहरीले दुईवटा जघन्य अपराधको सफल अनुसन्धान गरेको छ । विराटनगर महानगरपालिका–१५ हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको शव फेला परेको दुई घण्टाभित्रै हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।

कोमलकुमारीको हत्यामा संलग्न उनकै श्रीमान ३५ वर्षीय रोशन साह र शव व्यवस्थापनमा सहयोग गर्ने रोशनका दाजु ४६ वर्षीय दीपेन्द्र साह पक्राउ परेका हुन् । रोशनले चैत ५ गते पत्नीको हत्या गरेर शव व्यवस्थापनमा दाजुको सहयोग लिएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

हातखुट्टा बाँधेर तन्नामा पोको पारी विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीनजिक रहेको कल्भर्टमुनि फालिएको अवस्थामा चैत १० गते साँझ महिलाको शव फेला परेको थियो । उक्त शव कोमलकुमारीको भएको पत्ता लगाएको प्रहरी हत्यामा संलग्न उनका पति रोशन र शव व्यवस्थापनमा सहयोग गर्ने जेठाजु दीपेन्द्रलाई तत्कालै पक्राउ गर्न सफल भएको हो ।

त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा चैत ६ गते बिहान बेलबारी नगरपालिका–९ का ३२ वर्षीय पंकज साह बेहोस अवस्थामा फेला परे । उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरिदिए ।

घटनाको सूक्ष्म अनुसन्धान गरेको प्रहरीले दुर्घटनामा परेर उनको मृत्यु भएको पत्ता लगायो । उनलाई ठक्कर दिने सवारीसाधन र चालकको पहिचान गर्न प्रहरी सफल भयो । ५ दिनपछि चालकलाई पक्राउ गर्दै ठक्कर दिने सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको डीएसपी लामिछानेको भनाइ छ । दुवै घटनामा प्राप्त सफलताले प्रहरीको अनुसन्धान क्षमतामा सुधार आएको पुष्टि हुन्छ ।

फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विभिन्न अपराधमा संलग्न भएका कारण अदालतबाट दोषी ठहर भएर सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका ठूलो संख्याका प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको छ ।

चैत महिनाको हालसम्म कैद तथा जरिबाना भुक्तान नगरिकन फरार भएका ८४ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट १४ वर्ष ७ महिना २५ दिन कैद र ५ लाख २ हजार ३०५ रुपैयाँ जरिबाना असुल भएको छ । यसले दण्डहीनता अन्त्य गर्दै पीडितलाई न्यायको प्रत्याभूति दिलाउने दिशामा प्रहरी सक्रिय रहेको देखाउँछ ।

खुला सिमानाको फाइदा उठाउँदै हुने चोरी तस्करी नियन्त्रणमा पनि मोरङ प्रहरीले कडाइ गरेको छ । भन्सार छली गरेर हुने अवैध ओसारपसार नियन्त्रणमा प्रहरी सक्रिय बनेको हो । चैत महिनामा मात्रै १ करोड ४४ लाख ३३ हजार ६५८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको डीएसपी लामिछानेको भनाइ छ ।

प्रहरीले अवैध रुपमा ओसारपसार हुँदै गरेको अवस्थामा मोटर्स पार्ट्स, खाद्यान्न, लत्ताकपडा, हार्डवेयर तथा पेय पदार्थ, मरिच र हल्दीलगायतका वस्तु बरामद गरेर भन्सार बुझाएको हो । तस्करीमा प्रयोग गरिएका ९ वटा सवारीसाधन र तस्करीमा संलग्न ६ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी लामिछानले दिए । ‘चोरी तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीयदेखि जनप्रतिनिधि र अन्य निकायसँग समन्वय गर्दै कारबाही तीव्र पारिएको छ,’ उनले भने ।

सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउन पनि प्रहरी सक्रिय छ । मापसे तथा लापसे गरेर सवारी चलाउने ११ जना चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । ट्राफिक नियमको उल्लंघन गर्ने अन्य सवारी चालकहरूसमेत कारबाहीमा परेका छन् ।

चैत महिनाको हालसम्म १ हजार ३५५ सवारीसाधन कारबाहीमा परे । ट्राफिक नियम उल्लंघनको कसुरमा चालकलाई जरिबाना तिराउँदा १४ लाख ११ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । ट्रकदेखि मोटरसाइकलसम्मका सवारीसाधन ट्राफिक उल्लंघनअन्तर्गतको कारबाहीमा परेका छन् ।

सेवा प्रवाह सुधार र नागरिकमैत्री सेवा प्रदान गर्न तथा नागरिक–प्रहरी सम्बन्धलाई अझ उचाइ दिन जिल्लाका प्रत्येक प्रहरी युनिटमा ‘नागरिक सहजकर्ता’को व्यवस्था गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार सेवाग्राहीलाई सहजीकरण गर्नका लागि प्रत्येक प्रहरी इकाईमा ‘नागरिक सहजकर्ता’को व्यवस्था मिलाइएको छ । बिचौलियाको प्रभाव रोक्न अनावश्यक रूपमा कार्यालयमा आउने व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिकासँग सहकार्य गर्दै कोशी राजमार्ग तथा मुख्य बजार क्षेत्रमा ९ वटा सीसी क्यामेरा थप गरिएको छ । सीसी क्यामेराले सुरक्षा निगरानीलाई थप मजबुत बनाएको एसपी कटवालको भनाइ छ । उनका अनुसार हिरासतमा रहेका थुनुवालाई हरेक शनिबार तनाव व्यवस्थापन र पुनर्स्थापनाका लागि प्रशिक्षण दिने गरिन्छ । पुनः अपराधमा नफर्किने वातावरण सिर्जना गर्ने उद्देश्यले प्रशिक्षण दिने गरिएको उनले बताए ।

विशेष गरेर प्रहरीले विराटनगरसहित मोरङमा गुन्डागर्दीमा संलग्नको अभिलेख तयार पारेको छ । ‘गुन्डागर्दीमा संलग्न व्यक्तिहरूको अभिलेख तयार गरी निगरानी बढाउने, सीमाक्षेत्रमा हुने अपराध नियन्त्रणका लागि समन्वयात्मक हिसाबले काम गर्ने र मौसमजन्य विपद् सामना गर्न तयारी अवस्थामा रहने रणनीतिका साथ प्रहरीले काम गरिरहेको छ,’ एसपी कटवालले भने । प्रहरी पछिल्लो समय गुन्डागर्दी, मिटरब्याज र सट्टेबाजीको धन्दा लगायतका आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको छ ।

चोरी तस्करी, लागुऔषधको ओसारपसार र कारोबार, सीमा अपराध, ट्राफिक नियमको उल्लंघनजस्ता कैयौं चुनौतीलाई चिर्न अझ प्रभावकारी र दीर्घकालीन रणनीतिका साथ प्रहरीले काम गर्ने एसपी कटवालले बताए । मोरङ प्रहरीले अपराध नियन्त्रणदेखि सेवा सुधारसम्मका क्षेत्रमा देखाएको सक्रियता उल्लेखनीय रहेको सरोकारवाला बताउँछन् ।

विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश साह प्रहरीको कामकारबाही प्रभावकारी रहेको बताउँछन् । ‘प्रहरीको काम गर्ने शैलीमा अहिले निक्कै परिवर्तन आएको छ । प्रहरीले यही गति र शैलीलाई निरन्तरता दिन सक्यो भने सबैले सधैं शान्ति सुरक्षाको अनुभूति गर्न पाउँछन् । सीमा अपराध रोकिन्छ । आखिर जनतालाई चाहिएको शान्ति सुरक्षा नै हो,’ उनले भने ।

विराटनगर–१५ भारतसँग सीमा जोडिएको वडा हो । सीमाक्षेत्रका वडाध्यक्षको नेतृत्वमा सीमा निगरानी समितिसमेत हुन्छ । उक्त समितिले स्थानीय बासिन्दा, सुरक्षा निकायलगायत सरोकारवालासँग समन्वय गरेर सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रणमा महत्वपूर्ण एवं प्रभावकारी भूमिका खेल्दै आएको छ ।

भारतसँग सीमा जोडिएको मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारले पछिल्लो समय शान्ति सुरक्षाको अवस्था एकदमै मजबुत एवं प्रभावकारी रहेको बताए । ‘विगतको तुलनामा अहिले धेरै सुधार भइसकेको छ । नेपाल र सशस्त्र प्रहरीले समन्वयमा काम गरिरहेका छन् । लागुऔषध र चोरी तस्करी नियन्त्रणमा सुरक्षाकर्मीको विशेष सक्रियता देखिन्छ,’ उनले भने ।

गच्छदारले लागुऔषध, तस्करीलगायत विभिन्न खालका सीमा अपराध नियन्त्रणमा सुरक्षाकर्मीसँग गाउँपालिकाले पनि समन्वय गर्ने गरेको जानकारी दिए । ‘सुरक्षाकर्मीसँगको समन्वयमा युवा तथा सीमा क्षेत्रका बासिन्दालाई लक्षित गरेर विभिन्न जनचेतामूलक कार्यक्रम गर्ने गरिएको छ । अहिले शान्ति सुरक्षाको अवस्थालाई खोट लगाउने ठाउँ छैन । सुरक्षाकर्मीको मुभमेन्ट बढेको छ । सुरक्षा सक्रियता बढ्नासाथ आपराधिक गतिविधि हुन पाउँदैन,’ उनले भने ।

उनका अनुसार सीमा क्षेत्रको ठूलो समस्या भनेको चोरी तस्करी हो । ‘पहिले–पहिले तस्करीको धन्दा चलाउनेको दोहोरीलत्ताले सीमा क्षेत्रका बासिन्दा हैरान थिए । तस्करको गिरोहविरुद्ध सर्वसाधारणले बोल्न सक्ने अवस्था थिएन । सुरक्षा निकायको उपस्थिति मजबुत बनेपछि तस्करी रोकिएको छ । सामान्य कामले नेपाल–भारत आवतजावत गर्नेबाहेक अहिले सीमाक्षेत्र सुनसानजस्तै देखिन्छ,’ गाउँपालिका अध्यक्ष गच्छदारले भने । शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन र अपराध नियन्त्रण गर्न पालिकाले सुरक्षा निकायलाई भरपुर सहयोग गर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.