
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न गएका एक जना दर्शनार्थी सम्पर्कविहीन भएका छन् । सुनसरीको इनरुवा नगरपालिका–५ का ५५ वर्षीय शिवनारायण राय शुक्रबार मन्दिर दर्शनका लागि ताप्लेजुङ पुगेका थिए ।
प्रहरीका अनुसार उनी बास बस्ने स्थानमा नबसिकन सिधै मन्दिरतर्फ गएका थिए । त्यसयता उनी आफन्तको सम्पर्कमा नआएको र खोजी गर्दा पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
रायको परिवारका सदस्य र आफन्तले शनिबार साँझ ५ बजेतिर मात्रै सुरक्षाकर्मीलाई घटनाको जानकारी गराएका थिए । दर्शनार्थी सम्पर्कविहीन बनेको सूचना पाउनसाथ खोजीका लागि सशस्त्र प्रहरी बल सुरक्षा बेस काफ्लेपाटीबाट टोली खटिएको छ ।
नेपाल प्रहरी पनि परिचालन गरिएको छ । हाल बेपत्ता रायको खोजी कार्य जारी रहेको र हालसम्म केही पत्ता नलागेको प्रहरीले जनाएको छ ।



















