
विराटनगर । धनकुटा घर भएका एक जना युवक विराटनगरमा पक्राउ परेका छन् । भारतको जोगवनी पुगेर आउँदै गरेको अवस्थामा धनकुटा नगरपालिका–६ का २६ वर्षीय झुमबहादुर भुजेल पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले उनलाई शनिबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार जोगवनीबाट नेपालतर्फ पैदल नै आउँदै गरेको अवस्थामा भुजेललाई नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो ।
शरीर खानतलासी गर्दा साथबाट लागुऔषध (खैरो हेरोइन) १८ ग्राम २३० मिलिग्राम बरामद भएको लामिछानेले बताए । जोगवनीबाट लागुऔषध खरिद गरेर आउँदै गरेको अवस्थामा पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।
उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

























