
विराटनगर । विराटनगरका महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्बन्धी प्रशिक्षण दिइएको छ ।
विराटनगर महानगरपालिकासँगको सहकार्यमा सामुदायिक एकता मञ्च नेपाल (फोकस) विराटनगरले १९ वटै वडाका महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्बन्धी प्रशिक्षण दिइएको हो । विराटनगरमा आइतबार र सोमबार दुई दिन आयोजना गरिएको कार्यक्रममा १६० जनाको सहभागिता रहेको थियो ।
आइतबार विराटनगर महानगरपालिका–१ देखि ९ सम्म र सोमबार १० देखि १९ नम्बर वडाका महिला समितिका प्रतिनिधिहरु सहभागिता रहेको फोकस नेपाल विराटनगरका सचिव विनोद पोखरेलले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा मानवअधिकारका विषयमा सोमराज थापा, समुदाय स्वास्थ्य अधिकार र जनचेतना अभिवृद्धिका विषयमा बागमती कट्टेल, मानसिक स्वास्थ्यका विषयमा गीताञ्जली शर्मा र लैंगिक हिंसा एवं मानव बेचबिखनका विषयमा विनोद पोखरेलले सहजीकरण गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले तालिमको समयावधि कम भएको बताएका थिए । तालिमको विषय राम्रो भएकाले आगामी दिनमा तालिमको अवधि बढाउनुपर्ने उनीहरुको माग छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा फोकस नेपालका अध्यक्ष सोमराज थापा, उपाध्यक्ष बागमती कट्टेल, सचिव विनोद पोखरेल, सहसचिव गीताञ्जली शर्मा, सदस्यहरु साधना झा र आभा अनुपमा, विराटनगर महानगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख राधिका कार्की, सन्ध्या श्रेष्ठ, सुनिता पौडेल, गैरसरकारी संस्था महासंघ मोरङका सचिव नवराज निरौला लगायतको सहभागिता रहेको थियो ।

























