उपसभामुखको अडान : ‘दाइजो भए म आउँदिनँ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार ११:३२

काठमाडौं । उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध स्पष्ट र कडा अडान लिँदै दाइजो लेनदेन हुने कुनै पनि विवाहमा सहभागी नहुने सार्वजनिक घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले पछिल्ला दिनहरूमा आफूलाई धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त भए पनि तीमध्ये कुनैमा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख नदेखिएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले यस अवस्थाले नेपाली समाज अझै पनि दाइजोजस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने बताइन् ।

Advertisement

‘दाइजो लिनु वा दिनु मात्र होइन, त्यस्तो लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो,’ उनले भनिन् । उपसभामुख ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र मौलिक अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने उल्लेख गर्दै सामाजिक रूपान्तरणका लागि व्यक्तिगत तहबाटै परिवर्तनको सुरुवात आवश्यक रहेको धारणा राखिन् ।

उनले अबदेखि आफू दाइजो भएको विवाहमा सहभागी नहुने स्पष्ट गर्दै दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरेकी छन् । साथै, विवाहका निमन्त्रणापत्रमै ‘दहेजमुक्त विवाह’ र दाइजो अपराध हो भन्ने सन्देश समावेश गर्न उनले विशेष अपिल गरेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.