
विराटनगर । कोशी प्रदेशमा समावेशी शासन, महिला सशक्तीकरण र दलितमैत्री नीति कार्यान्वयनलाई केन्द्रमा राख्दै १४ जिल्लाका दलित महिलाहरूको तीन दिने कार्यशाला विराटनगरमा जारी छ ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा दलित महिला संघ (फेडो)को आयोजनामा सोमबारबाट कार्यशाला सुरु भएको हो । फेडो मोरङकी कोषाध्यक्ष गोमादेवी खातीका अनुसार कार्यक्रममा एक सयभन्दा बढी दलित महिलाहरूको सहभागिता रहेको छ ।
जातीय विभेद र छुवाछुतविरुद्ध साझा आवाज बलियो बनाउँदै अधिकार प्राप्तिको अभियानलाई संस्थागत गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको फेडो मोरङकी सचिव मन्दिरा विश्वकर्माले बताइन् । कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले दलित समुदायको अधिकार मागेर मात्र नपाइने भन्दै आवश्यकता परे संघर्षमार्फत पनि अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘अधिकार माग्नुपर्छ, नदिए लड्नुपर्छ ।’ मन्त्री महतोको अभिव्यक्तिले कार्यक्रममा सहभागीहरूको ध्यान तानेको थियो । तर, प्रदेशमा दलित सशक्तीकरण सम्बन्धी विधेयक अघि नबढ्नुले फेरि एकपटक राजनीतिक प्रतिबद्धतामाथि प्रश्न उठाएको छ ।
अधिकारकर्मीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्री महतोकै असहयोगका कारण विधेयक अघि बढ्न नसकेको आरोप लगाउँदै आएका छन् । कार्यक्रममा फेडोकी संस्थापक केन्द्रीय अध्यक्ष दुर्गा शोभले समाजमा विभेदको स्वरूप परिवर्तन भए पनि यसको मूल जरा अझै उखेलिन नसकेको बताइन् । उनले दलित महिलाहरूलाई संगठित भएर अधिकारका लागि निरन्तर आवाज उठाउन आग्रह गरिन् ।
त्यस्तै, केन्द्रीय महासचिव रेनु सिजापति र कोशी प्रदेश अध्यक्ष पाण्डु परियारले पनि व्यवहारमा अझै विभेद कायम रहेको उल्लेख गर्दै सचेतना, संगठन र सशक्तीकरणमार्फत मात्र परिवर्तन सम्भव हुने धारणा राखेका छन् । कार्यक्रमका सहभागी दलित महिलाहरुले अधिकार माग्ने र नदिएमा लड्ने उद्घोष गरेका छन् ।
बुधबारसम्म चल्ने कार्यशालामा सहभागी महिलाहरूलाई नेतृत्व विकास, अधिकारसम्बन्धी ज्ञान र स्थानीय तहमा दलितमैत्री योजना कार्यान्वयनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइने फेडो मोरङका कार्यक्रम संयोजक नरबहादुर आउजीले जानकारी दिए । दलित महिलाको आवाज, अधिकार र नेतृत्वको सवालमा केन्द्रित कार्यशालाले प्रदेशस्तरमा नीति निर्माण र कार्यान्वयनमा नयाँ दबाब सिर्जना गर्ने अपेक्षा गरिएको फेडो मोरङकी अध्यक्ष शर्मिला परियारले बताइन् ।

























