प्रेस स्वतन्त्रता उल्लंघनका घटना दोब्बर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार ०७:३४

काठमाडौं । नेपालमा पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ ।

नेपाल पत्रकार महासंघले गरेको अध्ययनबाट सन् २०२५ मे ४ देखि २०२६ अप्रिल ३० सम्म १३१ वटा उल्लंघनका घटना अभिलेख भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो । अघिल्लो वर्ष ७३ वटा घटना भएका थिए ।

Advertisement

महासंघ अध्यक्ष निर्मला शर्माका अनुसार यस वर्ष प्रेसमाथिको दबाब र आक्रमणको स्वरूप थप तीव्र र संगठित देखिएको छ । अभिलेख गरिएका घटनामध्ये पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१, सञ्चारकर्मी तथा सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेसागत असुरक्षाका १८ र कब्जा तथा अवरोधका २६ वटा घटना छन् ।

त्यसैगरी, नीतिगत बन्देजका तीन, पत्रकार पक्राउका दुई र एक पत्रकारको शंकास्पद मृत्युको घटना पनि समावेश गरिएको छ । महासंघले विभिन्न घटनाले पत्रकारिता पेसामाथि प्रत्यक्ष असर पार्दै सूचनाको स्वतन्त्र प्रवाहमा अवरोध सिर्जना गरेको निष्कर्ष निकालेको छ ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा मात्र २६ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका थिए । ती घटनाबाट १०० भन्दा बढी पत्रकार तथा सञ्चारगृह प्रभावित भएका थिए । आन्दोलनका क्रममा सञ्चारगृहमा आगजनी, तोडफोड र लुटपाटका घटना समेत भएको महासंघले जनाएको छ ।

विभिन्न घटनाबाट संस्थागत रूपमा करिब ६० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । सञ्चार उद्यमी तथा पत्रकारको निजी सम्पत्तिमा करिब १८ करोड रुपैयाँ नोक्सानी पुगेको उल्लेख गरिएको छ । सोही क्रममा पाँच जना पत्रकार घाइते भएका थिए ।

अध्यक्ष शर्माले पछिल्लो समय सञ्चारसम्बन्धी विभिन्न विधेयकमार्फत प्रेस स्वतन्त्रता सीमित गर्ने प्रयास भइरहेको आरोप लगाएकी छन् । उनले यस्ता नीतिगत कदमहरूले स्वतन्त्र पत्रकारिताको वातावरणलाई थप जोखिमपूर्ण बनाउँदै लैजाने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.