
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि अस्पतालमा कार्यरत नर्समाथि अभद्र व्यवहार गरिएको घटना सार्वजनिक भएको छ ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि स्वास्थ्यकर्मीहरूमा सुरक्षा चिन्ता बढेको छ । स्वास्थ्यकर्मीहरूको सुरक्षाको विषयमा सरोकारवालाबीच चासो बढ्दै गएको छ । घटनालाई लिएर सम्बन्धित निकायहरू सक्रिय भएका छन् ।
उक्त घटनापछि नेपाल नर्सिङ संघ मोरङले दोषीमाथि कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गराएको छ । संघकी मोरङ अध्यक्ष लजिता योञ्जनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अस्पतालमा कार्यरत नर्सिङ स्टाफलाई लक्षित गरी गालीगलौज र धम्की दिइएको घटनालाई गम्भीर रूपमा लिइएको बताएकी छन् ।
उनका अनुसार अस्पतालको पोस्ट–अपरेटिभ वार्डमा कार्यरत नर्समाथि गत शुक्रबार बिरामीका कुरुवाहरूले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए । घटनापछि आइतबार अस्पताल प्रशासन, मेट्रोन तथा नर्सिङ स्टाफबीच संयुक्त छलफल गरिएको थियो । संघले स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग अघि सारेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त विवाद बिरामीको मृत्यु पछि उत्पन्न भएको हो । डीएसपी कोपिला चुँडालले सार्वजनिक भिडियोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत चासो दिएको बताइन् । उनले भनिन्, ‘भिडियोमा नर्समाथि गाली गरिएको देखिए पनि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान अझै खुलेको छैन । अनुसन्धान जारी छ ।’
प्रहरीका अनुसार मृगौलाको पथरीको शल्यक्रियापछि मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएको थियो । वैशाख १६ गते शल्यक्रिया गरिएपछि भण्डारीलाई पोस्ट–अपरेटिभ वार्डमा सारियो । त्यसपछि अवस्था जटिल बनेको र सोही क्रममा मृत्यु भएको बताइएको छ ।
भण्डारीको मृत्यु भएपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनापछि कोशी अस्पतालमा पोस्टमार्टम गरेर मृतकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले यस विषयमा मेडिकल काउन्सिलमा समेत उजुरी दिने तयारी गरिरहेको जानकारी प्रहरीले पाएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान र आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको डीएसपी चुँडालले बताइन् ।




















