ब्राउन सुगर, गाँजा र प्रतिबन्धित औषधसहित १९ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १०:२५

विराटनगर । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको साथबाट ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ९०४ ट्रामोल क्याप्सुल, १ हजार २६६ कोलिभान क्याप्सुल, चार वटा मोटरसाइकल, दुईवटा अटो र १३ हजार २६० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयबाट परिचालित संयुक्त प्रहरी टोलीले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।

Advertisement

झापामा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले अर्जुनधारा नगरपालिका–५ का भरत मोहरालाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, १३ हजार २६० रुपैयाँ नगद र प्र १–०१–००२ ह ७८५६ नम्बरको टेम्पोसहित पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाले कमल गाउँपालिका–७ का सनम धिमाल, कमल–६ का प्रदीप दास र हल्दिबारी गाउँपालिका–३ का १५ वर्षीय प्रितम तामाङलाई ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर तथा प्र १–०१–०१२ प ६३७९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले इलामको सूर्योदय नगरपालिका–११ का रनधीर प्रधानलाई १ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । सोही टोलीले बिर्तामोड नगरपालिका–३ का सुनील पासवान र उदय पासवानलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

मोरङमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१७ का अरमान मियाँलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यस्तै, लेटाङ नगरपालिका–३ का मनकुमार मगर र हर्कबहादुर तामाङलाई ४ ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सुनसरीमा इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका–७ का शिशिर गुरागाईं र इटहरी उपमहानगरपालिका–१६ का विमल लम्साललाई १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु र को २७ प ९४३३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–१ का राजन राई, सुमन राई, अभिषेक भुजेल, सन्देश राई, बेलका नगरपालिका–४ का रविन राई र आयुषा राईलाई २६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रदेश १–०२–०४६ प ९०५४, स ११ प ४१४० नम्बरका मोटरसाइकल तथा को २ ह ८९९२ नम्बरको अटोसमेत बरामद गरिएको छ । त्यस्तै, सुनसरीको प्रहरी चौकी मधुवनले बराहक्षेत्र नगरपालिका–११ मा बोराभित्र बेवारिसे अवस्थामा राखिएको ६२ किलोग्राम गाँजा बरामद गरेको छ ।

उता, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका–९ मा डेरा गरी बस्ने फुर्मा गुरुङलाई ट्रामोल ९०४ क्याप्सुल र कोलिभान १ हजार २६६ क्याप्सुलसहित पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.