
काठमाडौं । देशभर आज (बिहीबार) राष्ट्रिय पत्रकारिता दिवस विविध कार्यक्रमसहित मनाइँदैछ । विक्रम संवत १९५८ वैशाख २४ गते पहिलो अखबारका रूपमा ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशन भएको ऐतिहासिक दिनको स्मरणमा २०७३ सालदेखि सरकारले हरेक वर्ष वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको हो ।
यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरी राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम तय गरेको छ । पत्रकारिता क्षेत्रको विकास, सामाजिक उत्तरदायित्व र पेसागत सुरक्षाप्रति जागरण फैलाउने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।
दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद शर्मा र सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनासहितले शुभकामना सन्देश दिएका छन् । यसै अवसरमा ‘गोर्खापत्र’ दैनिकले आफ्नो १२६ औँ वर्ष प्रवेशका अवसरमा विशेषांक प्रकाशन गरेको छ । त्यसले नेपाली पत्रकारिताको ऐतिहासिक यात्रा र निरन्तरता झल्काएको छ ।



















