
गोरखा । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले गोरखास्थित प्रसिद्ध शक्तिपीठ मनकामना मन्दिरमा पुगेर विशेष गोरखाली पूजा गरेका छन् । शनिबार बिहान मन्दिर परिसर पुगेका उनले परम्परागत विधिअनुसार देवी मनकामना माईको पूजाअर्चना गर्दै दर्शन गरेका हुन् ।
शाहवंशीय राजपरिवारको कुलदेवीका रूपमा समेत मानिने मनकामना माईको दर्शनका लागि पूर्वराजा शाह विशेष रूपमा गोरखा पुगेको बताइएको छ । पूजाका क्रममा मन्दिरका मूल पुजारी तथा स्थानीय भक्तजनहरूले उनलाई स्वागत गरेका थिए ।
धार्मिक विधिपूर्वक सम्पन्न भएको पूजापछि उनले केही समय मन्दिर परिसरमै बिताएका थिए । उनको आगमनसँगै मन्दिर क्षेत्रमा भक्तजनको भिड बढेको थियो ।
स्थानीयहरूले पूर्वराजाको भ्रमणलाई धार्मिक दृष्टिले महत्वपूर्ण भन्दै स्वागत गरेका छन् । मन्दिर क्षेत्रमा सुरक्षासहित आवश्यक व्यवस्थापन पनि मिलाइएको थियो ।



















