फाेटाे: एआइकाठमाडौं । भरतको एक पार्टी प्यालेसमा विवाहको भोज खाएका ९३ जना बिरामी भई अस्पताल भर्ना भएका छन् । भरतपुर महानगरपालिका –४ स्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ जना पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत वैशाख २३ गते आयोजित विवाह समारोहमा सहभागी भएकामध्ये ९३ जना बिरामी भएका र बिरामीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
बिरामीहरूको चितवनका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको छ । केही बिरामीहरू थप उपचारका लागि काठमाडौंको सिभिल अस्पताल र त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा समेत भर्ना भएका छन् ।
हालसम्म ९३ जना बिरामी भएको तथ्यांक प्राप्त भएको छ, जसमध्ये ५० जना उपचाररत छन् । दुई जनालाई सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गरिएको थियो । उनीहरूको अवस्थामा सुधार आएपछि अहिले वार्डमा सारिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले चौतारी पार्टी प्यालेसका दुई जना जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले भोजमा प्रयोग गरिएको खाद्य वस्तुको नमुना संकलन गरी थप अध्ययन सुरु गरेको छ । डिभिजन कार्यालयका प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकहरूको प्रारम्भिक रिपोर्टअनुसार विषाक्त खानाकै कारण बिरामी भएको देखिएको र प्रयोगशाला परीक्षणपछि थप कुरा प्रस्ट हुने जानकारी दिएको प्रहरीले जनाएको छ ।
बिरामीहरूमा कडा ज्वरो आउने, पखाला लाग्ने र रक्तचापमा गडबडी जस्ता लक्षणहरू देखिएका छन् ।



















