
इलाम । ‘समुन्नत इलाम सम्पन्न इलामेली’ भन्ने नाराका साथ इलाम नगरपालिकाको आयोजनामा सहकारी संस्थाहरूका व्यवस्थापक तथा बजार प्रतिनिधिहरूका लागि दुई दिने उद्यमशीलता तथा बजारीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा वैशाख २६ र २७ गते सञ्चालन भएको तालिममा नगर भित्रका विभिन्न सहकारी संस्थाहरूको सहभागिता रहेको थियो।
तालिममा सहभागीहरूले सहकारीका मूल्य, मान्यता र सिद्धान्त, दिगो विकासका आधारहरू, व्यवस्थापनमा आउने समस्या र त्यसको समाधानका उपायहरूबारे जानकारी हासिल गरेका छन्।
साथै, संस्थाको भूमिका, बजारको चाहना, आवश्यकता र प्रभावकारी बजारीकरणका सम्बन्धमा समेत उत्कृष्ट ज्ञान प्राप्त गरेको सहभागीहरूले बताए।
विशेष गरी संस्थाका बजार प्रतिनिधिहरूलाई समेत तालिममा सहभागी गराउनुलाई सहभागीहरूले प्रशंसनीय कार्य भएको भन्दै आगामी दिनमा पनि यस्तै ज्ञानवर्धक तालिमको अपेक्षा गरेका छन्।
तालिमको समापन कार्यक्रम सहकारी अधिकृत मदन कुमार गुरुङको अध्यक्षता तथा नगर उपमेयर विष्णु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सहकारी शाखाका कर्मचारी प्रेम प्रसाद पाण्डेले कार्यक्रमको सञ्चालन गरेका थिए।

























