
विराटनगर । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त पहलमा सञ्चालन भइरहेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशका तीन जिल्लाबाट ४८ जना सडकआश्रित तथा सहयोगापेक्षी नागरिकको उद्धार गरिएको छ ।
वर्षायाम सुरु हुनुअघि सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल र खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका नागरिकलाई सुरक्षित आश्रयमा लैजान अभियान तीव्र पारिएको हो । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला छन् । झापाबाट चार पुरुष र पाँच महिला गरेर नौ जना, मोरङबाट छ पुरुष र एक महिला गरेर सात जना तथा सुनसरीबाट २६ पुरुष र छ जना महिला गरेर ३२ जनाको उद्धार गरिएको अधिकारीले बताए ।
उद्धार गरिएका सबैलाई मानव सेवा आश्रमका विभिन्न शाखामा सुरक्षित रूपमा राखिएको छ । १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा र २१ जनालाई धरान शाखामा संरक्षणका लागि पठाइएको आश्रमले जनाएको छ ।
अध्यक्ष अधिकारीका अनुसार वर्षायाममा सडकमा बस्न बाध्य नागरिकको अवस्था अझ जोखिमपूर्ण हुने भएकाले अभियानलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिएको हो । ‘वर्षात्को समयमा कसैले सडकपेटीमा रात बिताउन नपरोस् भन्ने उद्देश्यले उद्धारलाई तीव्र बनाएका छौँ,’ उनले भने । उनका अनुसार अभियानले विभिन्न जिल्लामा मानवीय संवेदनाको सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको छ ।
आश्रमले उद्धारपछि उनीहरूलाई आश्रय, भोजन, स्वास्थ्योपचार, मानसिक तथा भावनात्मक सहजीकरण उपलब्ध गराउँदै आएको छ । सम्भव भएका व्यक्तिहरूको परिवारसँग पुनर्मिलन गराउने प्रयाससमेत भइरहेको जानकारी अध्यक्ष अधिकारीले दिए ।
वैशाख २९ गते झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु गरिएको यात्रा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा कार्यक्रम सम्पन्न गरी शुक्रबारदेखि मधेश प्रदेशमा केन्द्रित हुनेछ । अभियान आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।
उद्धार यात्रामा चर्चित गायिका तथा समाजसेवी आनी छोइङ डोल्मासहित २४ सदस्यीय स्वयंसेवक टोली सहभागी रहेको छ । परिवार वा आफन्तको साथ नपाई सडकमा जीवन बिताइरहेका नागरिकलाई पुनः सुरक्षित जीवनतर्फ फर्काउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो ।
हाल मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २३ शाखामार्फत सेवा सञ्चालन गर्दै आएको छ ।

























