विराटनगरको ग्रीनक्रस हस्पिटलमा संवेदनहीनताको पराकाष्ठा, मृत महिलाको कानबाटै सुन गायब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार १६:४८

विराटनगर । विराटनगरस्थित रंगेली रोडमा रहेको ग्रीनक्रस हस्पिटलमा मानवतालाई नै लज्जित तुल्याउने घटना सार्वजनिक भएको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाटै सुनका मुन्द्रा चोरी भएको घटना सार्वजनिक भएको हो ।

आइतबार उदयपुरको त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको मृत्यु भएलगत्तै उनले लगाएको एक तोला सुनको मुन्द्रा अस्पतालको शय्याबाटै गायब भएको हो ।

Advertisement

विष सेवन गरेपछि सबिनालाई उपचारका लागि जिल्ला अस्पताल गाईघाटबाट नोबेल मेडिकल कलेज विराटनगरका लागि रेफर गरिएको थियो । तर, एम्बुलेन्स चालकले ग्रीनक्रस अस्पताल पुर्‍याइदिए । आइतबार बिहान सबिनाको मृत्यु भयो ।

मृतकका आफन्तका अनुसार अस्पताल ल्याउँदा र उपचारको क्रममा सबिनाको कानमा सुनका मुन्द्रा सुरक्षित थिए । ‘मृत्यु हुनुअघि ईसीजी गर्ने भन्दै पर्दा लगाएर भित्र लगियो,’ त्यसपछि सुन गायब भयो,‘त्यही समयमा सुन चोरी भएको हाम्रो आशंका छ ।’

मृत्युपछि शव हेर्दा कानमा मुन्द्रा नदेखेपछि आफन्तले तत्काल अस्पताल प्रशासनसँग सोधपुछ गरेका थिए । सुरुमा इन्कार गरेको अस्पतालले बेडमा रहदा मुन्द्रा भएको भिडियो देखाएपछि क्षतिपूर्ति दिन तयार भयो । सुरुमा घटना स्वीकार गर्न नचाहेको प्रशासनले अन्त्यमा चोरी भएको सुनको क्षतिपूर्ति बापत एक तोला सुन बराबरको रकम पीडित परिवारलाई बुझाएको हो ।

यता, अस्पतालका सञ्चालक कृष्ण खवासले भने घटनाको समयमा आफू बाहिर रहेको भन्दै पन्छिन खोजे । उनले घटनाबारे थप बुझ्ने बताए पनि अस्पतालले क्षतिपूर्ति तिरिसकेकाले चोरीको पुष्टि भइसकेको पीडित पक्षको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालले अस्पताल जस्तो संवेदनशील ठाउँमा भएको यस्तो घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान सुरु गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.